नियम ८१
खास मुद्दाको सुनुवाइ बन्द इजलासबाट हुने
(१) नियम ८० मा जुनसुकै कुरा लेखिएको भए तापनि जासुसी, बालबालिका, करणी सम्बन्धी, मानव बेचबिखन, नाता कायम, सम्बन्ध विच्छेद मुद्दा तथा अन्य कानूनले बन्द इजलासबाट हेरिने भनी तोकिदिएका मुद्दा वा खुल्ला इजलासबाट सुनुवाइ गर्न मनासिब नभएकोले बन्द इजलासबाट सुनुवाइ गर्ने भनी आदेश भएका मुद्दाको सुनुवाइ बन्द इजलासबाट हुनेछ ।
(२) उपनियम (१) बमोजिम बन्द इजलासमा मुद्दाको सुनुवाइ हुँदा  सम्बन्धित कानून व्यवसायी, सरकारी वकिल, विशेषज्ञ, अभियुक्त, पीडित व्यक्ति, निजको संरक्षक तथा अदालतले अनुमति दिएका प्रहरी र अदालतका कर्मचारी मात्र उपस्थित हुन सक्नेछन् ।
(३) बन्द इजलासबाट हेरिएका मुद्दा सम्बन्धी कागजातको प्रतिलिपि पुनरावेदक, प्रत्यर्थी र पीडित बाहेक अरूलाई दिनु हुँदैन ।
(४) बन्द इजलासबाट हेरिएका मुद्दाको तथ्य खुलाई कुनै पत्रपत्रिकामा समाचार सम्प्रेषण गर्नु हुँदैन ।
तर अदालतले अनुमति दिएमा पीडितको परिचय नहुने गरी समाचार सम्प्रेषण गर्न  सकिनेछ ।